Views of settlements in Nuwakot District, Bagmati Province, Nepal, show homes and surrounding areas covered in mud after devastating flash floods swept through central northern Nepal on 26 August.

ILO assessment

नेपालमा बाढीको असर प्रभावित क्षेत्रभन्दा धेरै टाढासम्म, रोजगारी र जीविकोपार्जन जोखिममा : आईएलओको प्रारम्भिक आकलन

क्षतिग्रस्त पूर्वाधार, अवरुद्ध व्यापार र व्यापक अनौपचारिक रोजगारीका कारण श्रमिकहरू जोखिममा रहेको आईएलओको आकलनले औँल्याएको छ।

१ अक्टोबर २०२६

Views of settlements in Nuwakot District, Bagmati Province, Nepal, show homes and surrounding areas covered in mud after devastating flash floods swept through central northern Nepal on 26 August. © UNICEF/Laxmi Prasad Ngakhusi
Content also available in: English español français

काठमाडौं (आईएलओ समाचार)– अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सार्वजनिक गरेको एक प्रारम्भिक आकलन आकलन अनुसार नेपालमा आएको विनाशकारी बाढीले रोजगारी र जीविकोपार्जनमा गम्भीर अवरोध पुर्‍याएको छ, जसको असर प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रभन्दा धेरै टाढासम्म फैलिएको छ।


सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमाबाट भोटेकोशी–त्रिशूली करिडोर हुँदै आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै अर्थतन्त्रमा समेत नोक्सानी पुर्‍याएको थियो।


आकलनअनुसार नक्साङ्कन गरिएको बाढी प्रभावित क्षेत्रको चार किलोमिटरको दायराभित्र करिब २१ हजार ४०० रोजगारीमा रहेका व्यक्तिहरू बसोबास गर्छन्। घर, कार्यस्थल, सडक, पुल तथा ऊर्जा पूर्वाधारमा भएको क्षतिले आर्थिक गतिविधिमा अवरोध पुर्‍याउनुका साथै श्रमिकहरूको कार्यस्थल, बजार तथा अत्यावश्यक सेवासम्मको पहुँचमा समेत कठिनाइ उत्पन्न गरेको छ।
आकलनले पर्यटन, कृषि, यातायात तथा लघु र साना उद्यमहरूमा उल्लेख्य दबाब परेको औँल्याएको छ। पथप्रदर्शक, भरिया, होटल तथा रेस्टुरेन्टका श्रमिक, यातायात व्यवसायमा संलग्न श्रमिक तथा कृषि श्रमिकलगायतले आम्दानीमा कमी, काममा अवरोध तथा ग्राहक, उत्पादनका साधन र बजारसम्म पहुँचमा कठिनाइ सामना गर्नुपर्ने अवस्था आउन सक्छ।


नेपालमा अनौपचारिक रोजगारीको हिस्सा उच्च रहेकाले धेरै श्रमिकसँग आम्दानीमा आउने आकस्मिक कमी सामना गर्ने तथा सामाजिक संरक्षणका पर्याप्त आधार सीमित छन्। त्यसैले आर्थिक गतिविधि अवरुद्ध हुँदा औपचारिक रूपमा रोजगारी नगुमेको अवस्थामा समेत दैनिक ज्यालादारी, अस्थायी तथा अनौपचारिक श्रमिक, स्वरोजगारमा रहेका व्यक्ति तथा लघु र घरमा आधारित उद्यमहरूले छिट्टै आम्दानी गुमाउन सक्ने जोखिम रहन्छ।


यातायात तथा विद्युत् पूर्वाधारमा भएको क्षतिले बाढीको प्रारम्भिक प्रभावलाई अझ बढाउन सक्ने र प्रत्यक्ष रूपमा प्रभावित घरपरिवार तथा उद्यमबाट यसको असर व्यापक स्थानीय तथा क्षेत्रीय अर्थतन्त्रसम्म फैलिन सक्ने देखिएको छ।


नेपाल–चीन व्यापारिक करिडोरमा आएको अवरोधले पनि बाढी प्रभावित जिल्लाभन्दा धेरै टाढासम्मका उद्यम र श्रमिकलाई असर गर्न सक्छ। आर्थिक वर्ष २०२५–२६ मा चीनबाट नेपालमा हुने कुल आयातको करिब २२ प्रतिशत रसुवा र तातोपानी नाकाबाट भएको थियो। त्यस्तै, बाढीका कारण महत्त्वपूर्ण यातायात पूर्वाधारमा गम्भीर क्षति पुगेको रसुवा नाकाबाट चीनतर्फ हुने नेपालको कुल निर्यातको झन्डै आधा हिस्सा ओसारपसार भएको थियो। यी व्यापारिक प्रवाहमा आएको अवरोधले विभिन्न आर्थिक गतिविधिमा रोजगारी र आम्दानीमा असर पुर्‍याउन सक्छ। यस्तो प्रभावको परिमाण अवरोध कति समयसम्म रहन्छ, वैकल्पिक व्यापारिक मार्गको उपलब्धता र लागत कस्तो हुन्छ तथा उद्यमहरूले परिस्थितिअनुसार आफूलाई कति अनुकूल बनाउन सक्छन् भन्ने कुरामा निर्भर हुनेछ।


आकलनले पुनरुत्थान तथा पुनर्निर्माणका प्रयासले मर्यादित रोजगारी सिर्जना गर्दै जीविकोपार्जनको संरक्षणमा सहयोग पुर्‍याउन सक्नेमा जोड दिएको छ। यसका लागि तत्काल आम्दानी तथा उद्यम सहायता, रोजगारीमूलक पुनर्निर्माण, रोजगारी मिलान तथा सीप विकास, पेशागत सुरक्षा तथा स्वास्थ्यसम्बन्धी उपाय, सुदृढ सामाजिक संरक्षण तथा उत्थानशील उद्यमका लागि सहयोग आवश्यक रहेको आकलनले औँल्याएको छ।


“यस विपद्का कारण रोजगारीमा परेको असर बाढी प्रभावित क्षेत्रको सीमाभित्र मात्र रहने छैन। यातायात सञ्जाल, विद्युत् पूर्वाधार र व्यापारिक मार्गमा भएको क्षतिले आपूर्ति शृङ्खला, बजार तथा अन्तरसम्बन्धित सेवामार्फत यसको प्रभाव धेरै टाढासम्म पुर्‍याउन सक्छ, जसले श्रमिक र उद्यम दुवैलाई असर गर्छ,” नेपालका लागि आईएलओ देशीय निर्देशक नुमान ओज्कानले भन्नुभयो। “त्यसैले पुनरुत्थानले पूर्वाधारको पुनर्निर्माण मात्र होइन, जीविकोपार्जनको संरक्षण पनि गर्नुपर्छ। साथै, पुनर्निर्माणलाई मर्यादित रोजगारी सिर्जना गर्ने र उत्थानशीलता सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ।”


आकलनबारे


‘नेपालमा बाढीका रोजगारीसम्बन्धी प्रभाव : प्रारम्भिक द्रुत आकलन’ ले सन् २०२६ अगस्टमा आएको बाढीले प्रभावित क्षेत्र तथा आसपासका स्थानमा रोजगारी र जीविकोपार्जनमा पार्न सक्ने सम्भावित प्रभावका साथै क्षतिग्रस्त पूर्वाधार, विभिन्न क्षेत्रबीचको अन्तरसम्बन्ध र सीमापार व्यापारमा आएको अवरोधका कारण उत्पन्न हुन सक्ने व्यापक प्रभावको अध्ययन गरेको छ। रोजगारीमा जोखिमको दायरासम्बन्धी अनुमानहरू सङ्केतात्मक हुन् र तिनलाई वास्तविक रूपमा गुमेका रोजगारी वा आम्दानीको अनुमानका रूपमा व्याख्या गरिनु हुँदैन।

थप जानकारीका लागि कृपया सम्पर्क गर्नुहोस्:

निष्ठा रायमाझी, सञ्चार अधिकृत, नेपालका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को देशीय कार्यालय

https://www.ilo.org/nepal

Additional details

References

  • DOI: N/A